हेटौंडा, मकवानपुर — स्थानीय तहको पहिचान, संस्कृति र इतिहासलाई समेट्ने उद्देश्यसहित तयार गरिएको ‘हाम्रो कैलाश’ नामक पाठ्यपुस्तक अब मकवानपुर जिल्लाका कक्षा ६, ७ र ८ मा अध्यापन गरिने भएको छ।
बिहीबार एक विशेष समारोहका बीच कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले उक्त पाठ्यपुस्तक जिल्लाका विभिन्न विद्यालयका प्रधानाध्यापकहरूलाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो। कार्यक्रम जिल्ला समन्वय समिति तथा शिक्षा विकास तथा समन्वय इकाईको सहकार्यमा सम्पन्न भएको थियो।
स्थानीयस्तरमै तयार पारिएको शिक्षण सामग्री प्रयोगमा ल्याउने यो प्रयासलाई शिक्षा क्षेत्रमा एक उदाहरणीय कदमको रूपमा लिइएको छ। कार्यक्रममा शिक्षक, शिक्षा विज्ञ, विद्यालयका प्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा अध्यक्ष मुक्तानले ‘हाम्रो कैलाश’ पाठ्यपुस्तकले विद्यार्थीहरूलाई स्थानीय भाषा, संस्कृति, भूगोल तथा इतिहासबारे जानकारी प्रदान गर्नुका साथै उनीहरूलाई आफ्नै समुदायसँग जोड्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।
शिक्षामा स्थानीयता समेट्ने यो प्रयासले आगामी दिनमा अन्य पालिकाहरूलाई पनि उत्प्रेरित गर्ने अपेक्षा गरिएको छ।

















