हेटौंडा/ शैक्षिक सुधार र विद्यालयको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले मकवानपुरको राक्सिराङ गाउँपालिकामा आयोजना गरिएको विशेष कार्यक्रममा स्थानीय विद्यालयका प्रधानाध्यापकहरूले २८ बुँदे प्रतिबद्धता-पत्रमा हस्ताक्षर गरेका छन्। सोही अवसरमा विद्यालयहरूलाई शैक्षिक सामग्रीस्वरूप रेडियो सेटसमेत वितरण गरिएको छ।
कार्यक्रम राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। साथै, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेत, शिक्षा शाखा प्रमुख, विभिन्न विद्यालय व्यवस्थापन समिति अध्यक्षहरू, शिक्षक तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
गाउँपालिकाले शैक्षिक सुधारका लागि तयार पारेको २८ बुँदे कार्ययोजना अन्तर्गत प्रधानाध्यापकहरूले अनुशासन, शैक्षिक नियमितता, विद्यालय वातावरण सुधार, विद्यार्थीको सिकाइस्तर वृद्धि, अभिभावकसँगको समन्वय जस्ता महत्वपूर्ण प्रतिबद्धता जनाउनुभएको छ।
कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष मल्लले गुणस्तरीय शिक्षाका लागि शिक्षक, अभिभावक र समुदायबीचको सहकार्य अपरिहार्य रहेको बताउँदै प्रतिबद्धता-पत्र कार्यान्वयनमा सबैले गम्भीर भएर लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो। प्रमुख प्रशासकीय अधिकृत बस्नेतले शिक्षा क्षेत्रमा गरिएको यो पहलले दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रम अन्त्यमा प्रत्येक विद्यालयलाई सूचना प्रवाह र शिक्षण सहयोगका लागि रेडियो सेट वितरण गरिएको थियो। गाउँपालिकाले आगामी दिनमा विद्यालयको नियमित अनुगमन तथा मूल्यांकन पनि गरिने जानकारी दिएको छ।

















