हेटौंडा/ हेटौंडा उपमहानगरपालिका–९ स्थित किराना तथा खाद्यान्न पसलहरूमा उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरको टोलीले बिहीबार अनुगमन गरेको छ।
कार्यालय प्रमुख रामप्रसाद भुषालको नेतृत्वमा गरिएको अनुगमनमा ७ वटा पसल निरीक्षण गरिएको थियो। अनुगमनका क्रममा “आलोक एण्ड आलिया जेनेरल स्टोर” ले कानुनी अनुमति बिना मदिरा र सुतीजन्य सामग्री बिक्री गरेको तथा म्याद समाप्त भएका खाद्य वस्तुहरू पनि राखेको पाइएपछि उक्त पसललाई १५ हजार रुपैयाँ जरिवाना गरिएको हो।
प्रमुख भुषालका अनुसार उपभोक्ताबाट आएको उजुरीको आधारमा बजार अनुगमन गरिएको हो। अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च लगायतका प्रतिनिधिहरूको समेत सहभागिता थियो।
















