चलचित्र पत्रकारिता दिवसमा तीन विशिष्ट व्यक्तित्व हेटौंडामा सम्मानित

Image

हेटौंडा /  चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवस 2082 को अवसरमा चलचित्र, सञ्चार तथा कलाका क्षेत्रमा योगदान दिने तीन विशिष्ट व्यक्तित्वलाई सम्मानित गरेको छ।

शनिबार हेटौंडामा आयोजित विशेष समारोहमा बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री श्यामबहादुर खड्काको प्रमुख आतिथ्यमा पुरस्कृतहरूलाई सम्मान गरियो।

कार्यक्रममा वरिष्ठ चलचित्र पत्रकार अनन्त वाग्लेलाई “नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय पत्रकारिता सम्मान २०८२” प्रदान गरियो। सम्मान स्वरूप वाग्लेले नगद रू. ११,१११ प्राप्त गरे। झण्डै तीन दशकदेखि छापा पत्रकारितामा सक्रिय रहँदै आएका वाग्ले हाल विश्व घटना च्यानलमा आबद्ध छन्।

त्यसैगरी, चलचित्र रंग संयोजक रेनिस फागोलाई “स्व. धनमान श्रेष्ठ स्मृति कलाकर्मी सम्मान २०८२” बाट पुरस्कृत गरियो। फागोले ‘प्रेमगीत’ सिरिज, ‘काली’, ‘सेतो बाघ’, ‘नरसिंह अवतार’ जस्ता चर्चित चलचित्रहरूमा रंग संयोजन गरिसकेका छन्। उनले २०० भन्दा बढी चलचित्रमा कलात्मक योगदान दिएका छन्।

रेडियो थाहा सञ्चारका स्टेशन म्यानेजर गोकुल अधिकारीलाई “चलचित्र पत्रकारिता पुरस्कार २०८२” बाट सम्मान गरियो। अधिकारी झण्डै दुई दशकदेखि रेडियो पत्रकारितामा सक्रिय छन्।

कार्यक्रममा चलचित्र बोक्सीको घर मार्फत चर्चामा आएकी हेटौंडाकी बालकलाकार शुपला सापकोटालाई अभिनय क्षेत्रमा भविष्यमा अझ प्रगति होस् भन्ने शुभेच्छासहित प्रशंसा पत्र प्रदान गरियो।
चलचित्र पत्रकार संघ नेपाल २०५६ सालको जेठ ७ गते स्थापना भएको स्मरणमा प्रत्येक वर्ष यसै मितिमा चलचित्र पत्रकारिता दिवस मनाउँदै आइएको छ।

कार्यक्रममा संघका पूर्व केन्द्रीय अध्यक्ष शान्तिप्रिय, पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुमागाई, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, विभिन्न सञ्चार संघसंस्था तथा चलचित्र क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।