हेटौंडा/ मकवानपुरको राक्सिराङ गाउँपालिकामा १५ दिने दुना-टपरी बनाउने तालिम आइतबार सम्पन्न भएको छ। गाउँपालिकाको आर्थिक सहयोगमा लालित्य सेवा प्रतिष्ठानद्वारा आयोजना गरिएको तालिममा २६ जना महिलाले सहभागिता जनाएका थिए।
समापन कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष मुनाकुमारी पाठकको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। अध्यक्ष मल्लले महिलालाई सीपको प्रयोग गरी आम्दानी बढाउन आग्रह गर्दैै आगामी दिनमा थप सीपमूलक तालिम संचालन गरिने जानकारी दिए।
तालिम पश्चात दुना-टपरी बनाउने मेशिन सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समूहलाई हस्तान्तरण गरिएको छ। कार्यक्रममा उपाध्यक्ष बनस्तम थिङ, वडा नं. ३ का अध्यक्ष उत्तम वाइवा, प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर बस्नेत, स्थानीय वन महासंघका अध्यक्ष सन्तोष थापा, सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष ज्ञानेन्द्र तामाङ, हरियाली टोल विकास समितिका अध्यक्ष माणिकलाल बल लगायतको उपस्थिति थियो।















