कैलाश गाउँपालिकामा किशोरकिशोरी लक्षित अन्तरक्रिया कार्यक्रम

Image

हेटौंडा/ मकवानपुरको कैलाश गाउँपालिकाको आर्थिक सहयोग र रुद्राक्ष समाज नेपालको आयोजनामा किशोरकिशोरी लक्षित अन्तरक्रिया कार्यक्रम सोमबारदेखि सुरु भएको छ।

गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता र समाजका अध्यक्ष पुरुषोत्तम ठकुरीको अध्यक्षतामा कार्यक्रमको औपचारिक उद्घाटन गरिएको हो।

उद्घाटन समारोहमा बोल्दै अध्यक्ष मुक्तानले गाउँपालिकाले बालबालिका, किशोरकिशोरी, युवा तथा जेष्ठ नागरिकलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिए। उनले १२ कक्षा उत्तीर्ण गरी २० वर्ष पुरा गरेपछि विवाह गर्ने चेलीहरूलाई नगदसहित सम्मान गरिँदै आएको उल्लेख गरे।

“समाजको दीगो विकासका लागि यस्ता कार्यक्रमहरू आवश्यक छन्। छिट्टै नै बालबालिका केन्द्रित खेलकुद कार्यक्रम पनि सञ्चालन गरिनेछ,” अध्यक्ष मुक्तानले भने।

कार्यक्रमले किशोरकिशोरी तथा युवाहरूका आवाजहरू संकलन गरी आगामी नीति तथा योजनामा समावेश गर्ने उद्देश्य लिएको छ। उपाध्यक्ष बालकुमार मल्लले विद्यालय स्तरमा सञ्चालन गरिने यस्ता अन्तरक्रियाले स्थानीय सरकारलाई बालमैत्री कार्यक्रम निर्माण गर्न सहयोग पुग्ने बताए।

समाजका अध्यक्ष ठकुरीले अन्तरक्रियामा उठेका साझा विषयवस्तुहरूलाई प्रतिवेदनका रूपमा गाउँपालिकामा पेश गरिने जानकारी दिए। साथै, अन्तरक्रियामा मानसिक सशक्तिकरण, नेतृत्व विकास लगायतका विषयमा समेत छलफल गरिने जनाए।

कार्यक्रममा कैलाश गाउँपालिकामा रहेका ६ वटा माध्यमिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरूको सहभागिता रहनेछ। तालिममा बालबालिका तथा युवा क्षेत्रमा सक्रिय प्रशिक्षक बालिका चौधरीले सहजीकरण गर्नेछिन्।

पाँच दिनसम्म सञ्चालन हुने कार्यक्रमको समापन यही शुक्रबार गरिनेछ। उद्घाटन समारोहमा उपाध्यक्ष बालकुमार मल्ल, प्रशिक्षक बालिका चौधरी, भवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालचन्द्र मल्ल, गाउँपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख रमिला सापकोटा लगायतको उपस्थिति रहेको थियो