हेटौंडा / सेवा प्रवाहमा पारदर्शिता र नागरिक सहभागितालाई प्राथमिकतामा राख्दै हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले आफ्नो १२औँ वार्षिकोत्सव उल्लेखनीय ढंगले सम्पन्न गरेको छ। पानी आपूर्ति सुधारमा योगदान पुर्याउने व्यक्तिहरूलाई सार्वजनिक रूपमा सम्मान गर्दै, बोर्डले सेवा सुधारमा नागरिक र कर्मचारीको भूमिकालाई कदर गरेको छ।
बोर्डका अध्यक्ष प्रताप विष्टको सभाध्यक्षता, हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा र प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको आतिथ्यमा सम्पन्न कार्यक्रममा, सहभागीहरूले सेवा प्रवाहको गुणस्तर सुधारमा स्थानीय तह, कर्मचारी, र नागरिकबीचको सहकार्य अपरिहार्य भएकोमा जोड दिए।
मेयर लामाले न्यूनतम खपत गर्ने उपभोक्ताको पानी महसुल मिनाहा गरिएको जानकारी दिँदै स्थानीय सरकार जनमुखी र उत्तरदायी बन्नुपर्नेमा बल दिइन्। कार्यक्रमको विशेष आकर्षण भनेको विभिन्न तहमा सेवा र सूचना प्रदान गर्ने व्यक्तिहरूलाई सम्मान गरिनु हो।
पानी चुहावटको सूचना दिने, समयमै महसुल तिर्ने, स्वयंसेवी रूपमा ट्याङ्की सञ्चालन गर्ने, तथा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई नगदसहित सम्मान गरियो। यसले उपभोक्तालाई अधिकारसँगै दायित्व बोध गराउने अपेक्षा गरिएको छ।
कार्यक्रममा बोल्दै प्रदेश मन्त्रालयका सचिव, वडा अध्यक्षहरू, पत्रकार महासंघका प्रतिनिधिहरू लगायत वक्ताहरूले संस्थागत समृद्धिका लागि पारदर्शी सेवा, उत्तरदायी नेतृत्व र सक्रिय नागरिक सहभागिता अपरिहार्य भएको बताए।
वार्षिकोत्सवको अवसरमा प्रस्तुत प्रगति विवरणले बोर्डले सेवा सुधारतर्फ गरेको प्रयासलाई पुष्टि गरेको छ। विद्यार्थी, कर्मचारी, जनप्रतिनिधि, र सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा सामाजिक उत्तरदायित्व र सार्वजनिक सेवा प्रवाहमा नयाँ आशा पलाएको देखिएको छ।

















