गुणस्तरीय शिक्षाको मार्गमा अग्रसर हेटौंडाको भुटनदेवी मा.वि., नवआगन्तुक बिध्यार्थी हरुलाई स्वागत

Image

हेटौंडा/ हेटौंडा ४  “अनुशासित, गुणस्तरीय र प्रयोगात्मक शिक्षा हाम्रो प्रतिवद्धता, इन्जिनियरिङ शिक्षा भुटनदेवी मा.वि.को विशेषता” भन्ने नाराका साथ भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय), हेटौंडा–४, मकवानपुरले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै उत्कृष्ट शिक्षक तथा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम हेटौंडा–४ स्थित ओम्याक्स सिनेमा हलमा दिउँसो २ बजे सुरु भएको थियो। कार्यक्रमको सभाध्यक्षता विद्यालयका संस्थापक नारायण प्रसाद तिमिल्सिनाले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा बागमती प्रदेशसभा सदस्य माननीय एकलाल श्रेष्ठ सहभागी हुनुभएको थियो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविन सिग्देल,  हेटौंडा उपमहानगरपालिका वडा नं. ११ की वडा अध्यक्ष
जुना दाहाल लगायत अन्य अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।

समारोहको अवसरमा २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो। त्यस्तै, विद्यालयमा लामो समयदेखि समर्पित भएर योगदान पुर्‍याउँदै आएका उत्कृष्ट शिक्षकहरूलाई पनि नगदसहित सम्मान गरिएको थियो।

सो अवसरमा बोल्दै व्यवस्थापन समितिका अध्यक्ष  नविन सिग्देलले, “भुटनदेवी स्कूल कहिल्यै दोस्रो हुँदैन, यसलाई निरन्तर उत्कृष्ट विद्यालयको रूपमा आत्मस्थापित गर्दै अगाडि बढाइन्छ,” भन्दै गुणस्तरीय तथा व्यवहारिक शिक्षाको प्रतिबद्धता दोहोर्‍याउनुभयो। उहाँले विद्यालयको प्रगतिको लागि सबैको निरन्तर सहकार्य आवश्यक रहेको पनि उल्लेख गर्नुभयो।

कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूद्वारा प्रस्तुत गरिएका विविध सांस्कृतिक कार्यक्रमहरूले समारोहको वातावरणलाई झनै उत्साहपूर्ण बनाएको थियो।