हेटौंडा/ विदेश रोजगारीमा गएका नेपाली श्रमिकका परिवारहरूलाई मानसिक रुपमा सशक्त बनाउन र वित्तीय रूपमा सक्षम बनाउने उद्देश्यसहित हेटौंडामा पहिलोपटक विशेष कार्यक्रम आयोजना गरिँदैछ।
कोरियाको रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत कोरियामा कार्यरत श्रमिकका अभिभावक, जीवनसाथी तथा परिवार सदस्यहरूलाई लक्षित गरी वित्तीय साक्षरता र मनोसामाजिक परामर्श प्रदान गर्ने कार्यक्रम आगामी जेठ १६ गते हेटौंडा–१० स्थित रोयल पार्टी प्यालेसमा हुने भएको हो।
कार्यक्रमको उद्देश्य परदेशमा रहेका परिवारका सदस्यहरूको अनुपस्थितिमा नेपालमा रहेका परिवारहरूको भावनात्मक सन्तुलन कायम गर्नु, आर्थिक निर्णयमा सशक्त बनाउनु र सामाजिक रूपमा सबल बनाउनु रहेको आयोजक संस्थाहरूले जनाएका छन्।
कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय KOICA अङ्कुर नेपाल र K-HaMi परियोजनाको संयुक्त प्रयासमा सम्पन्न हुँदैछ।
कार्यक्रमको औपचारिक घोषणा शुक्रबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमार्फत गरिएको हो। सम्मेलनमा अङ्कुर नेपाल हेटौंडा सम्पर्क समितिका अध्यक्ष किशोर डंगोलले यो कार्यक्रम EPS श्रमिकका परिवारका लागि हेटौंडामा पहिलोपटक आयोजना हुन लागेको बताए। सञ्चारकर्मीहरूको साथ र पहुँचले कार्यक्रमलाई टाढासम्म पुर्याउन सकिने उनले उल्लेख गरे।
समितिका सचिव माधव सापकोटाले ग्रामीण क्षेत्रका श्रमिकका परिवारलाई प्राथमिकता दिइने बताउँदै, जानकारी पुर्याउने माध्यमका रूपमा सञ्चार क्षेत्रको भूमिका अपरिहार्य हुने धारणा व्यक्त गरे।

















