हेटौंडा/ जब राज्यका सबै संयन्त्र असहाय बने, हेटौंडा उपमहानगरपालिका–१६ का वडा अध्यक्ष रामकृष्ण कोइराला आफ्नै प्रयासमा जनताको समस्याको समाधान गर्न अघि सरे। कृषि सामग्री बोकेको गाडी भासिएर हराएको घटनामा संघीयदेखि प्रदेश सरकारका निकाय सक्रिय हुँदाहुँदै कुनै परिणाम ननिस्किएपछि कोइरालाले स्थानीय सहयोगमा गाडी निकाल्न सफल भएपछि आज प्रदेश सरकारले उहालाई सम्मान गरेको छ।
बागमती प्रदेश सरकारले गणतन्त्र दिवस २०८२ को अवसरमा हेटौंडामा आयोजित विशेष समारोहमा कोइरालालाई सम्मानपत्रसहित सम्मान प्रदान गरेको हो। भूगर्भविदहरूको टोली घटनास्थलमा पाँच दिनसम्म बसेर पनि गाडीको अत्तोपत्तो लगाउन असफल भएको थियो। स्थानीय प्रशासन र अन्य निकायको चासो नदेखिएपछि वडा अध्यक्ष कोइरालाले स्वयम् जिम्मेवारी लिँदै जोखिम मोलेर गाडीको खोजी कार्य अघि बढाउनु भएको थियो । अन्ततः ६ घण्टाको अपरेसनपछि गाडीका केही भागहरू निकालिएको थियो।
सामान्यतया यस्तो कार्य उच्च प्रशासनिक तहबाट नेतृत्व हुने अपेक्षा गरिन्छ। तर यस घटनाले जनप्रतिनिधि तहमै नेतृत्व क्षमताको गहिरो सन्देश दिएको छ। वडा अध्यक्ष कोइरालाले यसअघि पनि दुर्गम बस्ती शक्तिखोला–आकाशधारामा सडक, विद्युत र खानेपानीको पहुँच विस्तारमा सक्रिय भूमिका खेलेका छन्।
उनको सक्रियता, जिम्मेवारीबोध र साहसिक निर्णय क्षमताको प्रशंसा गर्दै प्रदेश सरकारले आज औपचारिक रूपमा सम्मान जनाएको हो।
यो घटनाले फेरि एक पटक देखाएको छ — जब शासन संयन्त्र निष्क्रिय हुन्छ, जनप्रतिनिधिको नेतृत्वले नै संकट समाधान गर्न सक्छ।

















