हेटौंडामा ५३औं विश्व वातावरण दिवस सप्ताहव्यापी कार्यक्रमसहित मनाइने

Image

हेटौंडा/ विश्व वातावरण दिवस २०८२ को अवसरमा हेटौंडामा सप्ताहव्यापी विविध कार्यक्रम सञ्चालन गरिने भएको छ। टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा “प्लास्टिक प्रदूषण नियन्त्रण गरौं;  भन्ने मूल नाराका साथ जेठ १६ गतेदेखि २२ गतेसम्म कार्यक्रमहरू सञ्चालन गरिने भएको हो।

जेठ १५ गते आयोजित पत्रकार सम्मेलनमार्फत समिति अध्यक्ष ध्रुव प्रसाद अधिकारीले जानकारी गराए अनुसार, वातावरणीय सचेतना अभिवृद्धि गर्न विविध कार्यक्रमहरू सञ्चालन गरिने छन्। सप्ताहको समापनका दिन जेठ २२ गते (जुन ५ तारिख) हुप्राचौरबाट बिहान ७ बजे बाजागाजा, झाँकीसहितको बृहत वातावरणीय सचेतना र्याली आयोजना गरिनेछ।

वातावरण संरक्षणका विषयमा समुदायस्तरमै चेतना अभिवृद्धि गर्ने उद्देश्यले हेटौंडामा वि.सं. २०५६ सालदेखि टोल विकास संस्थाहरू सक्रिय हुँदै आएका छन्। सरसफाइ, हरियाली प्रवर्द्धन, स्वास्थ्य, शिक्षा, उद्यमशीलता लगायतका बहुआयामिक कार्यहरूमा संलग्न यी संस्थाहरूले वातावरणीय रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।

अध्यक्ष अधिकारीका अनुसार, यस वर्षको कार्यक्रमलाई पनि नगरबासीको सामूहिक सहभागिता र वातावरणप्रतिको प्रतिबद्धताको उत्सवका रूपमा मनाउने तयारी गरिएको छ।

कार्यक्रममा टोल विकास संस्था, विद्यालय, क्लब, आमा समूह, स्वयंसेविका, धार्मिक तथा सांस्कृतिक समूह, सञ्चारकर्मी, नागरिक समाजका अगुवा लगायत सबैलाई सहभागी हुन समितिले आग्रह गरेको छ।

“हामीले विगत २२ वर्षदेखि वातावरणप्रतिको सामूहिक प्रतिबद्धता देखाउँदै विविध कार्यक्रम गर्दै आएका छौं,” अध्यक्ष अधिकारीले भने, “यसपटक पनि प्लास्टिक प्रदूषणविरुद्धको सन्देशलाई सशक्त रूपमा सम्प्रेषण गर्न सबैको सहभागिता अपेक्षित छ।”