हेटौंडा/ बागमती प्रदेशको कानून निर्माण, कार्यान्वयन र आगामी अपेक्षाका विषयमा केन्द्रित एक महत्वपूर्ण छलफल तथा अन्तरक्रिया कार्यक्रम आइतबार मकवानपुरको राक्सिराङ गाउँपालिकामा सम्पन्न भएको छ।
कार्यक्रम बागमती प्रदेश सभा सचिवालयको आयोजनामा तथा राक्सिराङ गाउँपालिकाको संयोजनमा सम्पन्न भएको हो। उक्त अन्तरक्रिया कार्यक्रम गाउँपालिका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षतामा सम्पन्न भयो।
कार्यक्रममा प्रदेश सभा सचिवालयका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, नागरिक समाजका अगुवा, युवा, महिला समूहका प्रतिनिधि, शिक्षक, पत्रकार तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अन्तरक्रियामा सहभागीहरूले प्रदेशमा हालसम्म बनेका कानूनहरूको प्रभावकारी कार्यान्वयन, स्थानीय तहसँगको समन्वयको अवस्था, तथा नीति निर्माण प्रक्रियामा जनताको सहभागिता सुनिश्चित गर्ने विषयमा सुझाव र चिन्ताहरू राखेका थिए।
प्रदेश सभा सचिवालयका प्रतिनिधिहरूले कानून निर्माणको प्रक्रिया, विधायनको मापदण्ड तथा आगामी नीतिगत सुधारका योजनाहरू प्रस्तुत गर्दै स्थानीय तहबाट प्राप्त सुझावहरूलाई आगामी विधेयक तथा संशोधन प्रक्रियामा समेटिने विश्वास दिलाएका थिए।
कार्यक्रमले प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई थप सुदृढ बनाउन तथा जनताका आवाजलाई कानून निर्माण प्रक्रियामा समावेश गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

















