राजसंस्था पुनर्स्थापनाको लहर चुलिँदै, उपत्यका बन्दको पूर्वसन्ध्यामा निषेधाज्ञा जारी

Image

हेटौंडा / राजसंस्था पुनर्स्थापनाको माग चुलिँदै गएसँगै आन्दोलनकारीहरू र सुरक्षाकर्मीबीच तनावको अवस्था सिर्जना हुन थालेको छ। यही सन्दर्भमा राजधानीमा सोमबारका लागि आह्वान गरिएको उपत्यका बन्दको पूर्वसन्ध्यामा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विभिन्न संवेदनशील क्षेत्रहरूमा दुई महिनाका लागि निषेधाज्ञा जारी गरेको छ।

राजावादी धारको प्रदर्शनमा आइतबार राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका नेता दीपक बहादुर सिंह पक्राउ परेपछि आन्दोलनले नयाँ रूप लिएको छ। उनीहरूको गिरफ्तारीको विरोधमा संयुक्त जनआन्दोलन समितिले जेठ १९ गते उपत्यका बन्दको घोषणा गरेको हो।

समितिका संयोजक नवराज सुवेदीले आइतबार सार्वजनिक गरेको विज्ञप्तिमा “राजसंस्थाको पुनःस्थापनाका लागि आवाज उठाउनु अपराध हो भने हामी त्यो अपराध गर्न तयार छौँ” भनी प्रतिक्रिया दिएका छन्। विज्ञप्तिमा पक्राउको निन्दा गर्दै, आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी पनि दिइएको छ।

यता, प्रशासनले बन्द र प्रदर्शनका नाममा हुने सम्भावित अराजकता रोक्न काठमाडौंका तीन क्षेत्र — कोटेश्वर, बल्खु, र चाबहिलस्थित सिफल चौर — मा जेठ १८ गतेदेखि आगामी दुई महिनासम्म निषेधाज्ञा लागू गरेको छ।

प्रशासनका अनुसार यी स्थानहरू विगतमा समेत संवेदनशील ठानिएका थिए, र हालको राजनीतिक गतिविधिलाई हेर्दा सुरक्षा जोखिम बढेको भन्दै निषेधाज्ञाको निर्णय लिइएको हो।
राजधानीवासीलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ भने सुरक्षा निकायहरू उच्च सतर्कतामा रहेका छन्।