हेटौंडा काठमाडौं छोटो दुरीको कान्ती राजमार्ग चार दिन  बन्द हुने

Image

हेटौंडा / मकवानपुर जिल्लाको बगुवा, बागमती खोलामा निर्माणाधीन बेलीब्रिज जडान कार्यका कारण चार दिनसम्म कान्ती राजमार्ग सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय, मकवानपुरद्वारा जारी गरिएको सूचनाका अनुसार मिति २०८२ साल जेष्ठ २१ गतेदेखि जेष्ठ २४ गतेसम्म (चार दिन) कान्ती राजमार्गको बगुवा खण्डमा कुनै पनि प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइनेछ।

सवारी आवागमन अवरुद्ध हुने भएकाले हेटौंडा–काठमाडौं वा काठमाडौं–हेटौंडा यात्रा गर्नुपर्ने यात्रु तथा सवारी साधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ। वैकल्पिक मार्गमा कुलेखानी–कलंकी–हमाने तथा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक सिफारिस गरिएको छ।

यो निर्णय कान्ती राजमार्ग सडक योजना, ललितपुरको सिफारिस अनुसार गरिएको हो। सडक बन्दको अवधिमा ट्राफिक व्यवस्थापन तथा सुरक्षा व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई आवश्यक निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सार्वजनिक सूचनामार्फत सर्वसाधारणलाई यात्रा योजना बनाउँदा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।