हेटौंडा/ जलवायु परिवर्तनको चुनौती सामना गर्न हेटौंडा उपमहानगरपालिकाले समुदाय, निजी क्षेत्र र विज्ञहरूबीचको त्रिपक्षीय सहकार्यलाई बल दिन थालेको छ। यही सन्दर्भमा “जलवायु सचेतना : समस्या र समाधानमा समुदायको भूमिका र हाम्रो प्रयास” शीर्षकको प्यानल छलफल कार्यक्रम सम्पन्न भयो।
नगर प्रमुख मिना कुमारी लामाले नीति निर्माणसँगै समुदायस्तरको सक्रिय सहभागिताको खाँचो औँल्याउँदै भन्नु भयो, “सरकारी प्रयास एक्लै पर्याप्त हुँदैन, स्थानीय समुदाय र निजी क्षेत्र मिलेर मात्र दीगो वातावरणीय समाधान सम्भव छ।”
प्लाष्टिक न्यूनीकरणदेखि फोहोर व्यवस्थापनसम्मका क्षेत्रमा समुदायलाई नेतृत्वदायी बनाउँदै लैजानुपर्नेमा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले जोड दिनुभयो। उहाले “प्लाष्टिक मुक्त हेटौंडा २०८२” अभियानबारे जनाउँदै, स्थानीय संकल्पलाई व्यवहारमा रूपान्तरण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा वातावरणविद् डा. बलराम भट्टले शिक्षा र प्रविधिको सहायताले समुदाय सचेत र सक्षम बन्न सक्ने धारणा राख्नुभयो। फोहोरमैला व्यवस्थापनमा निजी क्षेत्रको अनुभव प्रस्तुत गर्दै ग्रिन एन्ड क्लिन सिटी सर्भिसेजका प्रमुख नवराज खतिवडाले भन्नु भयो, “नीति, व्यवहार र प्रविधिको समन्वयमा मात्र दीगो फोहोर व्यवस्थापन सम्भव छ।”
कार्यक्रममा सहभागीहरूबाट जलवायु संकटको स्थानीय प्रभाव, युवाको सक्रियता, तथा नीतिगत सुधारका आवश्यकताबारे जिज्ञासा तथा सुझावहरू उठाइए। कार्यक्रमको सहजीकरण अनन्त कुमार बाँनियाले गर्नु भएको थियो।
७० भन्दा बढी सहभागीसहित सम्पन्न उक्त छलफलबाट हेटौंडालाई जलवायु-संवेदनशील र वातावरणमैत्री शहरका रूपमा विकास गर्न त्रिपक्षीय सहकार्यलाई मुख्य रणनीतिको रूपमा अघि बढाउने निष्कर्ष निकालिएको छ।

















