विश्व वातावरण दिवसमा राक्सिराङ र मनहरीमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न

Image

हेटौंडा/ राक्सिराङको चैनपुर र मनहरी बजार क्षेत्रमा विश्व वातावरण दिवसको अवसरमा बिहीबार विशेष सरसफाई तथा वातावरणीय सचेतना कार्यक्रम सम्पन्न भएको छ। ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ भन्ने नाराका साथ दिवस मनाइएको हो।

राक्सिराङ गाउँपालिका र सब डिभिजन वन कार्यालय राक्सिराङको संयुक्त पहलमा चैनपुर बजार क्षेत्रमा सरसफाइ कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा फोहोरमैला व्यवस्थापन र वातावरण संरक्षणको महत्वबारे जनचेतनामूलक सन्देश प्रवाह गरियो।

बिहीबार बिहान पालिकाको सभाहलमा सरोकारवालाहरूको उपस्थितिमा वातावरणीय विषयमा छलफलसहित कार्यक्रम सञ्चालन गरिएको थियो। त्यसपछि र्यालीसहित बजार क्षेत्रमा सरसफाइ गरिएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेत, वन अधिकृत मनिर अन्सारी, विद्यार्थी र स्थानीयवासीहरूको उत्साहजनक सहभागिता देखिएको थियो।

र्यालीमा सहभागीहरूले प्लास्टिक प्रदूषणको विरोधमा विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर जनचेतना फैलाएका थिए। र्यालीपश्चात पालिका परिसरमा वृक्षारोपण कार्यक्रम पनि सम्पन्न भएको थियो।

यसै अवसरमा डिभिजन वन कार्यालय राप्तीले मनहरी बजार क्षेत्रमा सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ। सब डिभिजन वन कार्यालय मनहरीका वन अधिकृत डटेन्द्र गोलेका अनुसार बिहीबार बिहान पुलदेखि रोटरी माविसम्मको सडक क्षेत्रमा फैलिएको प्लास्टिकजन्य फोहोर संकलन गरी व्यवस्थापन गरिएको थियो।

उक्त कार्यक्रममा डिभिजन वन कार्यालय राप्तीका प्रमुख हेम बहादुर थापा, उद्योग वाणिज्य संघ पश्चिम क्षेत्रका सभापति गणेश मानन्धर, मनहरी-७ का कार्यवाहक वडाध्यक्ष झक्कु सुवेदी, सुरक्षाकर्मी, पत्रकार तथा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।

प्रमुख थापाले नियमित सरसफाइको आवश्यकता औंल्याउँदै वातावरण संरक्षणमा सबै पक्षको समान जिम्मेवारी रहेको उल्लेख गर्नुभयो। उहाँले सरसफाइ कार्यक्रम जनचेतनाका लागि प्रतीकात्मक रुपमा सञ्चालन गरिएको जानकारी दिनुभयो।