हेटौंडामा २० करोडभन्दा बढीको लगानीमा खानेपानी पूर्वाधार निर्माण हुँदै

Image

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका र संघीय सरकारको साझेदारीमा हेटौंडामा २० करोड ५६ लाख रुपैयाँको लागतमा नयाँ खानेपानी योजना सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

उपमहानगरपालिकाका वडा नं. ९, १४ र १५ लाई लक्षित गर्दै सिमलटार–रातोमाटे सहलगानी खानेपानी योजना अन्तर्गत यो परियोजना अघि बढाइएको हो। शुक्रबार हेटौंडा उपमहानगरपालिका, संघीय खानेपानी योजना तथा निर्माण पक्षबीच त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ।

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डद्वारा तयार पारिएको ८२ करोड बराबरको वातावरणीय प्रभाव मूल्यांकनअन्तर्गत संघीय सरकारको पहलमा खोलिएको ठेक्काअनुसार निर्माण कम्पनीले दुई वर्षभित्र २० करोड ५६ लाख रुपैयाँको लागतमा परियोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

सम्झौतापत्रमा हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामा, संघीय खानेपानी योजना प्रमुख पूर्णप्रसाद उपाध्याय, खानेपानी बोर्ड अध्यक्ष प्रताप विष्ट र निर्माण कम्पनी जयमाता सुप्रीम जेभीका प्रतिनिधि कृष्णहरी चौलागाईंले हस्ताक्षर गरेका छन्। परियोजनामा उपमहानगरपालिकाको ३० प्रतिशत र संघीय सरकारको ७० प्रतिशत लगानी रहनेछ।

योजनाअनुसार हेटौंडा–९ स्थित बेदखोल्सीमा ६ लाख लिटर क्षमताको, हेटौंडा–१५ को पिसपार्कमा २ लाख लिटर र हेटौंडा–१४ मा २ लाख लिटर क्षमताका पानी ट्यांकी निर्माण गरिनेछ। साथै, हेटौंडा–१४ मै दुईवटा स्यावेल निर्माण गरिनेछ। यसका साथै, बोर्डद्वारा प्रयोगमा रहेको सामरी स्यावेलको पानीलाई पनि समेट्ने गरी ३ करोड रुपैयाँ थप लगानी गरिनेछ।

सम्झौता कार्यक्रममा नगर प्रमुख लामाले निर्माण कार्यलाई समयमै र गुणस्तरीयरूपमा सम्पन्न गर्न निर्माण पक्षलाई आग्रह गर्दै योजना सम्पन्न भएपछि नगरवासीलाई दिगो खानेपानी सुविधा पुग्ने विश्वास व्यक्त गरिन्। वडा १४ र १५ पछिल्लो चरणमा उपमहानगरमा समावेश भएका क्षेत्र भएकाले त्यहाँका बासिन्दालाई प्राथमिकतामा राखिएको उनले बताइन्।

सम्झौतामा उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, कार्यकारी निर्देशक विष्णुप्रसाद सापकोटा, इञ्जिनियर प्रदीप यादव, लेखा अधिकृत कपिल अर्याल, प्राविधिक अजित चौलागाईं, लेखा प्रमुख सञ्जय न्यौपानेसहित अन्य जनप्रतिनिधिहरुको  उपस्थिति रहेको थियो।