बेलिब्रिज जडानपछि हेटौंडा- काठमाडौं कान्तिराजपथ खुला

Image

हेटौंडा / गत असोज दोस्रो साता परेको अविरल वर्षाका कारण बगाएको बागमती खोलामा हालै बेलिब्रिज निर्माण गरिएको छ। हेटौँडा–काठमाडौं जोड्ने छोटो तथा वैकल्पिक मार्ग कान्तिराजपथमा पर्ने बागमती खोलामा यो बेलिब्रिज जडान गरिएको हो।

पहिले डाइभर्सनमार्फत सवारी सञ्चालन भइरहेकामा बारम्बार बाढीले अवरोध पुर्‍याउन थालेपछि स्थायी समाधानस्वरूप बेलिब्रिज बनाइएको हो। मकवानपुरको भीमफेदी गाउँपालिका–८ को बगुवास्थित स्थानमा निर्माण गरिएको यो बेलिब्रिजले मकवानपुर र ललितपुरबीचको आवतजावतलाई सहज बनाएको छ।

मकवानपुर प्रहरीले जनाएअनुसार बागमती प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने यो वैकल्पिक राजमार्ग आज आइतबारदेखि पुनः सञ्चालनमा ल्याइएको छ।

मनसुन सुरु हुनुअघि नै सडक समस्या समाधान गर्ने उद्देश्यले २१ देखि २४ जेठसम्म सवारी आवागमन पूर्ण रूपमा रोकेर बेलिब्रिज जडानको काम सम्पन्न गरिएको थियो।

यद्यपि, यो बेलिब्रिजको अधिकतम तौल वहन क्षमता ३० टन मात्रै भएकाले सडक आयोजनाले मकवानपुर र ललितपुरका प्रशासनिक निकायहरूलाई भारी सवारीसाधनमा निगरानी गर्न अनुरोध गरेको छ।