हेटौंडा / मकवानपुर बिद्युत उपकरण ट्रान्सफर्मर उत्पादन गर्दै आएको कम्पनी ‘निक’ ले नेपालमै पहिलोपटक सुपरफास्ट इलेक्ट्रिक भेहिकल (EV) चार्जिङ स्टेशन हेटौंडामा सञ्चालनमा ल्याएको छ।
हेटौंडा उपमहानगरपालिका–११ मा स्थापना गरिएको चार्जिङ स्टेशनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले गर्नुभयो। चीनको प्रतिष्ठित प्रविधि कम्पनी हुवावे (Huawei) सँगको सहकार्यमा स्थापना गरिएको उक्त ४ सय किलोवाट क्षमताको चार्जिङ स्टेशनबाट एकैपटक पाँचवटा सवारी साधन चार्ज गर्न सकिने व्यवस्था मिलाइएको छ।
चार्जिङ स्टेशनका प्रमुख प्रेशा श्रेष्ठका अनुसार यो प्रणालीबाट विद्युतीय सवारीसाधनलाई पारम्परिक इन्धन पम्पमा लाग्ने समयसरह, अर्थात् ५ देखि १५ मिनेटभित्र पूर्णरूपमा चार्ज गर्न सकिनेछ। “करीब ११ महिनाको निरन्तर प्रयासपछि हरित नगरी हेटौंडामा वातावरणमैत्री सेवा सञ्चालन गर्न सफल भएका छौं,” श्रेष्ठले बताउनुभयो।
उद्घाटन समारोहमा मुख्यमन्त्री लामाले वातावरण संरक्षणका लागि विद्युतीय सवारीको प्रवर्द्धन र चार्जिङ संरचनाको विस्तार आवश्यक रहेको उल्लेख गर्नुभयो। “सुपरफास्ट चार्जिङ जस्तो नयाँ प्रविधिको विस्तार प्रदेशभर गर्नु अहिलेको आवश्यकता हो,” उहाँले भन्नुभयो। साथै, उहाँले हुवावे कम्पनीलाई नेपालको सन्दर्भमा उपयुक्त प्रविधि भित्र्याएर सहकार्यलाई अझ बलियो बनाउन आग्रह गर्नुभयो।
हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले हरित शहर हेटौंडाको पहिचानलाई अझ मजबुत बनाउन चार्जिङ स्टेशनले महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। “धुवाँधुलोबाट सुरक्षित रही राजधानी शहरको वातावरण शुद्ध राख्न यस्तो पहल आवश्यक छ,” उहाँले भन्नुभयो।
निक कम्पनीका अनुसार, स्टेशनमा विद्युत आपूर्तिमा अवरोध नआओस् भन्नका लागि २४०/२२० केभी क्षमताको सौर्य ऊर्जा प्रणालीसमेत जडान गरिएको छ। साथै, हरेक चार्जिङ प्वाइन्ट नजिकै हरियाली प्रवर्द्धनका लागि बिरुवा रोपिएको छ।
कम्पनीका प्रबन्ध निर्देशक कुशकुमार जोशीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा हुवावे नेपालका प्रमुख जेम्स, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट, ब्रिटिश दूतावासकी प्रतिनिधि रेशा प्रिया, उद्योग परिसंघ बागमती प्रदेशका अध्यक्ष लेखराज पोखरेललगायतको उपस्थिति रहेको थियो।


















