हेटौंडा/ मकवानपुरको राक्सिराङ गाउँपालिकाले विद्यालयमा अध्ययनरत किशोरीहरूको स्वास्थ्य, सरसफाइ तथा आत्मविश्वास अभिवृद्धिका लागि एक महत्वपूर्ण कदम स्वरूप १५ वटा माध्यामिक तथा आधारभूत विद्यालयहरू लाई १५ थान सेनिटरी प्याड डिस्पोजल मेसिन वितरण गरेको छ।
गाउँपालिकाका सूचना अधिकारी रोमन पुडासैनीका अनुसार, यो कार्यक्रम गाउँपालिका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा उपाध्यक्ष बनस्तम थिङ्ग तथा प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेतको विशेष उपस्थिति रहेको थियो।
विद्यालयमा अध्ययन गर्ने किशोरीहरूका लागि महिनावारीको समयमा सुरक्षित र मर्यादित वातावरण निर्माण गर्नु आवश्यक रहेको भन्दै गाउँपालिकाले सेनिटरी प्याडको सुरक्षित निस्तारण प्रणाली सुरु गरेको हो। यस प्रविधिबाट प्रयोग भइसकेका प्याडहरूलाई वातावरणमैत्री तरिकाले नष्ट गर्न सकिने भएकाले विद्यालयहरू स्वच्छ, सुरक्षित र छात्रामैत्री बन्ने अध्यक्ष मल्लले बताउनुभयो।
उक्त कार्यक्रममा १५ वटै विद्यालयका प्रतिनिधि, शिक्षक तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले यस्तो पहलले छात्राहरूको विद्यालय उपस्थिति, आत्मबल र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने प्रतिक्रिया दिएका छन्।
राक्सिराङ गाउँपालिकाले आगामी दिनमा पनि विद्यालयस्तरमा यस्ता किशोरीमित्र कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ।

















