हेटौंडा/ मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले गाउँपालिका विभिन्न रोगव्यादीका साथै प्राकृतिक विपद्का लागि तयारी अवस्थामा रहेको बताएका छन् । “विपत्ति बाजा बजाएर आउँदैन, त्यसैले तयारी अवस्थामा बस्नुपर्छ,” अध्यक्ष मुक्तानले मंगलबार आयोजित स्थानीय द्रुत प्रतिकार्य समिति (RRT) र द्रुत प्रतिकार्य टोली (RRC) सम्बन्धी अन्तरक्रिया तथा विपद् कन्टिजेन्सी योजना निर्माण कार्यक्रममा बताएका हुन् ।
उनले मानव स्वास्थ्यसँग सम्बन्धित रोगव्यादी मात्र नभई पशुपन्छीमा लाग्ने रोग तथा अन्य प्राकृतिक विपद्को जोखिमलाई समेत ध्यानमा राखेर आवश्यक तयारी गरिरहेको जानकारी दिए । “मौसम परिवर्तनको समय भएकाले मौसमी रोगहरू फैलिन सक्छन्, स्वास्थ्यकर्मीहरू तयारी अवस्थामा रहनुहोस्,” भनी अध्यक्ष मुक्तानले निर्देशन दिएका थिए । साथै, गाउँपालिकामा पर्याप्त औषधि उपलब्ध रहेको र अभाव भएमा माथिल्लो निकायसँग समन्वय गर्न आग्रह गरेका थिए ।
गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले पनि कैलाश क्षेत्र बाढी, पहिरो तथा रोगव्यादीको उच्च जोखिममा रहेको भन्दै गाउँपालिका पूर्वतयारी अवस्थामा रहेको बताए । “हामी अपुग सामग्री खरिद गरेर तयारीमा रहनेछौं,” उपाध्यक्ष मल्लले भने ।
कार्यक्रममा डब्लुएचओ (WHO) का प्रतिनिधि डा. सविता पौडेलले द्रुत प्रतिकार्य समिति तथा टोलीले पालना गर्नुपर्ने निर्देशिका, विश्वमा घटेका महामारी तथा विपद्का उदाहरण, नेपालमा देखिएका ५२ प्रकारका संक्रामक रोगहरू, सार्वजनिक महामारीका संकेत, कैलाशमा जंगली च्याउको प्रयोग र त्यसबाट हुने सम्भावित असर लगायत विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
त्यस्तै, जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरेले RRT र RRC का संरचना, तिनीहरूको काम, कर्तव्य र अधिकारबारे जानकारी गराउँदै महामारीको प्रकृतिअनुसार तीन तहमा समिति तथा टोली गठन हुने स्पष्ट पारे ।
गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष बालकुमार मल्ल, वडा नं. १० का अध्यक्ष सूर्यबहादुर ब्लोन, स्वास्थ्य शाखा प्रमुख कृष्ण यादव लगायतको उपस्थिति थियो । कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाबाट आएका स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
Do you like this personality?























