व्यवसायीमाथि आक्रमणले हेटौंडामा सुरक्षा चुनौती उजागर, दोषी खोज्न प्रहरी सक्रिय

Image

हेटौंडा/ हेटौंडा-१० राप्तीरोडमा रहेको दास इम्पोरियमका सञ्चालक विन्दल दासमाथि भएको कुटपिटले स्थानीय व्यवसायी सुरक्षा संकटमा परेका छन् भन्ने सन्देश दिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार ३ वटा मोटरसाइकलमा आएका करिब ८/९ जनाको युवाहरुको समूहले दासमाथि आक्रमण गरेका थिए।
कुटपिटबाट दासको टाउकोमा चोट लागेकाले उनलाई हेटौंडा अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

घटनापछि संलग्न युवाहरूको पहिचान प्रक्रिया अघि बढेको र उनीहरूलाई खोज्न प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।

उद्योग व्यवसायीहरूमाथि यस किसिमको आक्रमणले व्यावसायिक वातावरणमा त्रास फैलाएको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले कडा विरोध जनाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेको छ।

स्थानीय व्यवसायीहरूले पनि यस्तो घटनाले सुरक्षा निकायप्रतिको विश्वास घट्ने चिन्ता व्यक्त गरेका छन्।