हेटौंडा / मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित डाइभरडाँडामा मंगलबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
बिरगंजबाट हेटौंडातर्फ आइरहेको ना ५ ख २९७० नम्बरको बसको ब्रेक फेल भई पूर्व–पश्चिम राजमार्गमा विपरीत दिशाबाट आइरहेको ONE TEST कारलाई ठक्कर दिएको थियो। त्यसपछि सोही बसले अगाडि गइरहेको ना ८ ख ४४० नम्बरको ट्याङ्करलाई समेत पछाडिबाट ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
दुर्घटनामा बसमा सवार ४ र कारमा सवार ६ जना गरी कुल १० जना घाइते भएका हुन्। घाइतेहरूलाई तत्काल उद्धार गरी हेटौंडा अस्पतालमा उपचारका लागि पठाइएको छ। तीमध्ये ६ जनाको अवस्था मध्यम र ४ जनाको अवस्था सामान्य रहेको बताइएको छ।
बस ब्रेक फेल भई नियन्त्रण गुमाउँदा दुर्घटना स्थलभन्दा करिब १०० मिटरअघि मात्रै एउटा रुखमा ठोक्किएर रोकिन सफल भएको जनाइएको छ। ट्याङ्करको पछाडिको भागमा सामान्य क्षति पुगेको छ।
दुर्घटना भएको स्थान हेटौंडा रातोमाटे प्रहरी चौकीबाट करिब १ किलोमिटर दक्षिणमा पर्छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।

















