मनहरी गाउँपालिकाबाट एकैपटक ५ पक्की पुल निर्माण सम्पन्न, ३३ करोडको आन्तरिक लगानीमा सम्पन्न संरचना उद्घाटन

Image

हेटौंडा/ मकवानपुरको मनहरी गाउँपालिकाले आफ्नै आन्तरिक बजेटबाट ५ वटा पक्की मोटरेबल पुलको निर्माण कार्य सम्पन्न गरेको छ। २०७७ सालमै एकै पटक ठेक्का आह्वान गरी शिलान्यास गरिएका ती पुलमध्ये ३ वटा गत वर्ष नै उद्घाटन भइसकेका थिए भने बाँकी २ वटा पुलको शनिबार एक कार्यक्रमका बीच उद्घाटन गर्दै परियोजनाको समापन गरिएको हो।

करीब साढे ३३ करोड रुपैयाँको लागतमा सम्पन्न पुलहरूबाट गाउँपालिकाका वडा नं. १ देखि ४ का बासिन्दा प्रत्यक्ष लाभान्वित हुने भएका छन्। शनिबार मनहरी–३ स्थित ठाडोखोला र हाँडीखोला पुलको उद्घाटन बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले गरे।

८ दशमलव ४० मिटर चौडाइ र ९० मिटर लम्बाइको ३ स्पान भएको ठाडोखोला पुल हिराचन बानियाँ जेभीले ८ करोड ६७ लाख ५ हजार रुपैयाँमा निर्माण गरेको हो। यस्तै ३५ मिटर लम्बाइ भएको एक स्पानको हाँडीखोला पुल भैरव नारायणम् जेभीले ५ करोड ३५ लाख ५१ हजार रुपैयाँमा निर्माण सम्पन्न गरेको हो।

यसअघि नै उद्घाटन गरिएका पुलहरूमा मनहरी १ र २ जोड्ने च्यापलखोला पुल (३ स्पान, ६ करोड २८ लाख ९८ हजार), ३ र ४ जोड्ने ट्वाङ्ग्रा खोला पुल (२ स्पान, ६ करोड ४९ लाख ६० हजार), र ३ र ४ नम्बर वडालाई नै जोड्ने मसिने खोला पुल (२ स्पान, ७४.५५ मिटर लम्बाइ, ६ करोड ५९ लाख ५० हजार) रहेका छन्। यी सबै निर्माणहरू बहुवर्षीय ठेक्काअन्तर्गत थालिए पनि विविध कारणले समय थप गरी सम्पन्न गरिएका हुन्।

कार्यक्रममा बोल्दै सांसद बानियाँले लामिटार–मकरी–चकरी–पदमपोखरी सडक कालोपत्रे गर्ने र चकरी हुँदै हेटौंडा–१३ जोड्ने पुल निर्माणका लागि प्रदेश सरकारबाट आवश्यक बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे। संघीयता र गणतन्त्रले विकासका कामहरू तीव्र बनाएको उल्लेख गर्दै बानियाँले हालको व्यवस्थाले स्थानीय विकासलाई प्राथमिकता दिएको बताए।

गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले पुल निर्माण सम्पन्न भएसँगै मनहरीका ४ वटा वडालाई जोड्ने वैकल्पिक मार्गको विकास भएको जनाउँदै स्थानीयवासीको जनजीवन सहज हुने विश्वास व्यक्त गरे।

पुल उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका सभापति ललितबहादुर घलान, बागमती प्रदेशका पूर्वराज्यमन्त्री सन्तबहादुर चेपाङ, उपाध्यक्ष सीता पुलामी, प्रदेशसभा पूर्वसांसद ओम ग्लान, मनहरी गाउँपालिकाका पूर्वअध्यक्ष एकराज उप्रेती, नेपाली काँग्रेस मनहरी सभापति प्रकाश वर्तौला, वडा नं. ३ का अध्यक्ष अनन्त अर्याल, स्थानीय नेता नरहरिनन्दन उप्रेतीलगायतको उपस्थिति थियो।