हेटौंडा ११ मा मलमल तथा ढाकाको चप्पल बनाउने तालिम सम्पन्न, व्यवसायिक विस्तारमा जोड

Image

हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ को सहयोगमा सिमलटार टोल विकास संस्थाको आयोजनामा मलमल तथा ढाकाको चप्पल बनाउने तालिमको समापन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम सिमलटार टोल विकास संस्था अध्यक्ष देवकृष्ण थोकरको सभाध्यक्षतामा तथा संस्था सचिव दिल माया रुम्बाको सञ्चालनमा सम्पन्न भएको हो। कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ की वडा अध्यक्ष जुना दाहाल प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो।

समापन कार्यक्रममा वडा सदस्य गोपिनी सापकोटा, युवा तथा वडा खेलकुद विकास समिति अध्यक्ष प्रभाकर पुडासैनी, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष यज्ञ बहादुर आचार्य, बिमला ढुङ्गाना, प्रशिक्षक मिना सुबेदीलगायतको उपस्थिति रहेको थियो। तालिममा २० जना सहभागी थिए।

प्रमुख अतिथि दाहालले तालिमबाट आर्जन गरिएको सीपलाई व्यवसायिक रूपमा लैजानु आवश्यक रहेको उल्लेख गर्दै उत्पादनको बिक्री वितरणमा वडा कार्यालयको साथ रहने बताउनु भयो। उहाँले आगामी दिनमा यस्तै सीपमूलक कार्यक्रमहरू थप ल्याउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

कार्यक्रममा बोल्दै युवा समिति अध्यक्ष पुडासैनीले प्रमाणपत्र संकलनमा मात्र सीमित नभई सिकेको सीपलाई व्यवहारमा प्रयोग गर्न आग्रह गर्नुभयो। वडा समन्वय समितिका अध्यक्ष आचार्यले यस्तो तालिमलाई टोल टोलमा विस्तार गर्नु आवश्यक रहेको बताउँदै उत्पादित सामग्रीको बिक्रीमा सहजीकरण गर्ने प्रतिवद्धता जनाउनुभयो।