हेटौंडा/ मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको घोषणा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। गाउँपालिकाको सभा हलमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न सरोकारवाला निकाय, संघसंस्था, स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा स्थानीय अगुवा व्यक्तिहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रम गाउँपालिका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षतामा तथा उद्घाटन गरिएको सुचना अधिकारी रोमन पुडासैनीले जानकारी दिनुभयो।
कार्यक्रममा पूर्ण खोप सुनिश्चितताका वर्तमान अवस्था, दिगोपना कायम राख्न आवश्यक रणनीति, स्थानीय तहको सक्रिय भूमिका र आगामी योजना बारेमा विस्तृत छलफल गरियो। बालबालिकाको स्वास्थ्यमा आएको सुधार, खोप अभियानमा समुदायको सहकार्य र खोप सेवा निरन्तरता सम्बन्धी विवरणहरू सार्वजनिक गरिए।
महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्य संस्थाहरूलाई उत्कृष्ट योगदानका लागि सम्मान गरिएको थियो। राष्ट्रिय पूर्ण खोप निर्देशिका अनुसार अब राक्सिराङ्ग गाउँपालिका पनि पूर्ण खोप सुनिश्चित गर्ने पालिकाको सूचीमा आधिकारिक रूपमा समावेश भएको छ। यस घोषणाले गाउँपालिकालाई बाल स्वास्थ्य सुरक्षाको क्षेत्रमा नयाँ उचाइमा पुर्याएको छ।

















