हेटौंडा / हेटौंडा उपमहानगरपालिका १६ नम्बर वडाले वडा स्तरमा सम्भावित प्राकृतिक तथा मानवजन्य विपद्को पूर्वतयारी र प्रभावकारी उद्धार कार्यका लागि आवश्यक पर्ने सामग्रीहरू अस्थायी प्रहरी पोष्ट हटियालाई हस्तान्तरण गरिएको छ।
विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनको दृष्टिकोणले सुरक्षित समुदाय निर्माण गर्ने लक्ष्यका साथ उद्धार सामाग्री हस्तान्तरण गरिएको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष राम कृण कोइरालाले बताउनुभयो। सामाग्री हस्तान्तरण कार्यक्रम स्थानीय तहको पहलमा सम्पन्न भएको हो, जसमा विपद् व्यवस्थापनको पूर्वतयारी अन्तर्गत सुरक्षाकर्मीहरूलाई तत्काल प्रयोग गर्न सकिने उपकरण तथा सामग्रीहरू उपलब्ध गराइएको कोइरालाले बताउनुभयो।
कार्यक्रमका क्रममा अस्थायी प्रहरी पोष्ट हटियालाई विभिन्न उद्धार सामग्रीहरू – जस्तै टर्चलाइट, डोरी, प्राथमिक उपचार सेट, सुरक्षात्मक पोशाक, सर्जिकल मास्क, हेल्मेट, ढुंगा काट्ने औजार, र आवश्यक प्राथमिक सहायता उपकरणहरू हस्तान्तरण गरिएको जनाइएको छ।
सामाग्री हस्तान्तरण कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, सुरक्षा निकायका प्रतिनिधिहरू, नागरिक समाजका सदस्यहरू तथा सम्बन्धित क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

















