हेटौंडा/ दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–९, झिँगानेमा जंगली च्याउ सेवन गर्दा एकै परिवारका पाँच जना बिरामी परेका छन्।
बिहीबार दिउँसो जंगली च्याउ खाएका कारण ४८ वर्षीय मिनबहादुर तामाङ, उहाँकी ४४ वर्षीया श्रीमती सानी तामाङ, २८ वर्षीया बुहारी सोममाया तामाङ, पाँच वर्षीय नाति आरिच तामाङ र नौ महिनाका निर्मल तामाङ अस्वस्थ बनेका हुन्।
अस्वस्थ भएपछि सबैलाई उपचारका लागि च्छो–रोल्पा अस्पताल, चरिकोट दोलखा लगिएको थियो। उपचारमा संलग्न चिकित्सकका अनुसार सोममाया तामाङको अवस्था मध्यम रहेको छ भने अन्य चार जनाको अवस्था सामान्य छ।
बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जंगली च्याउ सेवन गर्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले सचेत रहन सबैमा आग्रह गरेको छ।

















