प्रेस स्वतन्त्रतामाथि अवरोधको भत्सना: मकवानपुर प्रजिअलाई प्रेस अधिकारको पक्षमा उभिन प्रेस युनियनको आग्रह

Image

हेटौंडा / जिल्ला प्रशासन कार्यालय मकवानपुर परिसरमा समाचार संकलनमा रोक लगाएको घटनालाई लिएर नेपाल प्रेस युनियन मकवानपुरले आपत्ति जनाएको छ। पत्रकारहरुको संवैधानिक तथा पेसागत अधिकारमाथि हस्तक्षेप भएको भन्दै युनियनले प्रमुख जिल्ला अधिकारीलाई प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट रूपमा उभिन आग्रह गरेको छ।

शुक्रबार प्रशासन कार्यालयमा हेटौंडाका जनप्रतिनिधिमाथि भएको घटनालगायत नेपाली कांग्रेसको ध्यानाकर्षण तथा रास्वपाको ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई प्रवेश गर्न, दृश्य खिच्न रोक लगाइएको थियो। नेपाल पत्रकार महासंघ मकवानपुरकी उपाध्यक्ष भावना रिजाल (नेपाल टेलिभिजन), सदस्यद्वय गणेश दुलाल (रातोपाटी डटकम) र मनिल महत्तो (टिम टिभी) सहितका पत्रकारलाई कार्यालय बाहिरैबाट फर्काइएको थियो।
यस घटनाप्रति ध्यानाकर्षण जनाउँदै प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीले सार्वजनिक निकाय र पदधारीबाट पत्रकारको कर्तव्य निर्वाहमा गरिएको अवरोध संविधान तथा सञ्चार ऐनविरुद्ध भएको बताए। उनका अनुसार यस्तो कार्य प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी मात्र होइन, आपराधिक संहिता अनुसार दण्डनीय अपराध पनि हो।

युनियनले जारी गरेको विज्ञप्तिमा नेपालको संविधान २०७२ को धारा १७ (२)(क), १९, २७ र ३५ (४) अनुसार सञ्चारकर्मीलाई सूचना प्राप्तिको अधिकार, अभिव्यक्ति स्वतन्त्रता र निष्पक्ष प्रेसको प्रत्याभूति गरिएको उल्लेख गरिएको छ। साथै, सञ्चारकर्मी सुरक्षा नीति २०७३ र फौजदारी संहिता २०७४ मा सञ्चारकर्मीको काममा अवरोध पुर्‍याउने कार्यलाई अपराध मानिएको स्पष्ट गरिएको छ।

युनियनले प्रमुख जिल्ला अधिकारीलाई प्रेस स्वतन्त्रताको पक्षमा उभिन, पेसागत मर्यादा र सुरक्षाको प्रत्याभूति हुने वातावरण सिर्जना गर्न आग्रह गरेको छ।