नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हेटौंडामा सुरु, उद्घाटन खेलमा एपिएफ पराजित

Image

हेटौंडा / हेटौंडामा सुरु भएको ‘नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता–२०८२’ को भव्य उद्घाटन हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा  प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।

नेपाल स्पोर्ट सेन्टर (नेकोस) को आयोजनामा भएको प्रतियोगितामा विभागीय र प्रदेशस्तरका गरी ७ वटा महिला टोलीहरुको सहभागिता रहेको छ। खेलकुद मार्फत महिला सशक्तिकरण र राष्ट्रिय स्तरमा खेल प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको पहिलो दिनको उद्घाटन खेलमा विभागीय टोली एपिएफ पराजित भएको छ।

काठमाडौंको टिप टप न्यू डाइमन्ट टोलीले एपिएफलाई २७–२५, २५–१५ र २५–२२ को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।
कार्यक्रम उद्घाटन गर्दै नगर प्रमुख लामाले खेलकुद क्षेत्रको विकासका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले स्थानीय स्तरबाट खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिताहरु प्रभावकारी माध्यम बन्ने बताउँदै खेलाडीको हौसला बढाउन नगरपालिकाले आवश्यक पहल गर्ने उल्लेख गर्नुभयो।

नेकोसका अध्यक्ष, खेलकर्मी, प्रशिक्षक, स्थानीय जनप्रतिनिधि तथा खेलप्रेमीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।