मिजार समाज मकवानपुरको जिल्ला अधिवेशन तयारी शुरु, पत्रकार सम्मेलनमार्फत कार्यक्रम सार्वजनिक

Image

हेटौंडा/ “देश भरिका मिजारहरु एक हौं, प्रगती र सृजनाका लागि दृढ हौं” भन्ने मूल नाराका साथ मिजार समाज नेपाल मकवानपुरले जिल्ला अधिवेशनको तयारी थालेको छ। अधिवेशन तयारी तथा पत्रकार सम्मेलन २०८२ असार ७ गते शनिबार हेटौंडा–१, राप्तीरोडस्थित सृजना कला केन्द्रमा सम्पन्न गरिएको हो।

कार्यक्रममा अधिवेशन तयारी समिति संयोजक बलराम मंग्रातीले मिजार जाति नेपालमा दलित समुदायअन्तर्गत पर्ने जाति रहेको जानकारी गराउँदै पछिल्लो जनगणना अनुसार देशभर ४ लाख ५२ हजार २२९ मिजार समुदाय रहेको बताए। नेपालमा यो समुदाय जनसंख्याको करिब १.५ प्रतिशत हिस्सा ओगटेको छ।

संयोजक मंग्रातीका अनुसार मिजार समाज मकवानपुर संगठित गर्नुको उद्देश्य जातीय एकता, पारस्परिक भाईचाराको सम्बन्ध सुदृढ गर्नु, संस्कार, संस्कृतिको संरक्षण गर्नु, रीतिरिवाज, बंशावली जस्ता मौलिक पक्षलाई उजागर गर्नु रहेको छ। साथै उनले मिजार जातिको परम्परागत पेसा जुत्ता बनाउने र निर्माण कार्यलाई आधुनिक प्रविधिसँग समायोजन गरी आगामी पुस्तालाई सीपमूलक बनाउँदै आत्मनिर्भरतातर्फ उन्मुख गराउने आवश्यकता औंल्याए।

मिजार समाज मकवानपुरको जिल्ला अधिवेशन आगामी २०८२ साल भदौ २१ गते हेटौंडामा हुने तय भएको छ। अधिवेशन सफल बनाउन बलराम मिजारको संयोजकत्वमा तथा सुरेश मिजारको सह–संयोजकत्वमा १५ सदस्यीय जिल्ला अधिवेशन तयारी समिति गठन गरिएको जानकारी पत्रकार सम्मेलनमार्फत दिइएको छ।