बागमती प्रदेश सरकारले श्रमजीवी पत्रकारको हकहित उपेक्षा गर्दै सञ्चारमैत्री दृष्टिकोणविनाको बजेट ल्याइएको भन्दै पत्रकार महासंघसहितका संगठनहरूले विरोध

Image

हेटौंडा / बागमती प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति सञ्चार क्षेत्रका संघसंस्थाहरूले तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। श्रमजीवी पत्रकारको हकहित उपेक्षा गर्दै सञ्चारमैत्री दृष्टिकोणविनाको बजेट ल्याइएको भन्दै पत्रकार महासंघसहितका संगठनहरूले विरोध जनाएका हुन्।

प्रदेश सरकारले लोककल्याणकारी विज्ञापन शीर्षकमा ८५ प्रतिशत कटौती गर्नुका साथै पत्रकार संगठनहरूमार्फत सञ्चालित क्षमता विकास कार्यक्रम खारेज गरेको, श्रमजीवी पत्रकारलाई लक्षित कार्यक्रमहरू हटाएको तथा सञ्चार क्षेत्रको समग्र विकासका लागि आवश्यक बजेट विनियोजन नगरिएको भन्दै उनीहरूले आपत्ति जनाएका छन्।

यद्यपि नीति तथा कार्यक्रममा पत्रकारको सामाजिक सुरक्षा, विज्ञापन नियमन र सञ्चार क्षेत्र सुदृढीकरणका कुराहरू उल्लेख गरिए पनि बजेटमा त्यसको प्रतिबिम्ब नदेखिएको सञ्चारकर्मीहरूको गुनासो छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयअन्तर्गतको तजबिज खर्च बाहेक सञ्चार क्षेत्रको नाममा कुनै छुट्टै बजेट नराखिनु लोकतन्त्रविपरीत भएको उनीहरूको ठहर छ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति, प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, फोनिज, ब्रोडकास्टिङ एशोसिएसन, सामुदायिक रेडियो प्रशारक संघ, स्वतन्त्र पत्रकार संघ, सञ्चारिका समूह, राष्ट्रिय फोटो पत्रकार समूह लगायतका संघसंस्थाहरूले संयुक्त विज्ञप्तिमार्फत बजेट तत्काल संशोधन गरी सञ्चारमैत्री बनाउने माग गरेका छन्।

यदि बजेट यथास्थितिमा पारित गरिएको खण्डमा प्रदेश सरकारका कार्यक्रमहरू बहिष्कार गर्ने र सञ्चार माध्यमहरूले प्रकाशन तथा प्रसारण समेत नगर्ने कठोर कदम चालिने चेतावनी समेत उनीहरूले दिएका छन्।

नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर, प्रेस युनियनका उपाध्यक्ष सुजन विडारी, प्रेस चौतारीका महासचिव प्रकाश दाहाल, प्रेस सेन्टर नेपालका अध्यक्ष ध्रुव अधिकारी, समाजवादी प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष नवराज छत्कुली, फोनिजका अध्यक्ष युवराज श्रेष्ठ, नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारी, बानका अध्यक्ष गंगा पौडेल, सामुदायिक रेडियो प्रसारक संघका कोषाध्यक्ष दान बहादुर गुरुङ, स्वतन्त्र पत्रकार संघका उपमहासचिव सुरेश श्रेष्ठ, सञ्चारिका समूहकी महासचिव नानीमाया सापकोटा, तथा राष्ट्रिय फोटो पत्रकार संघका सचिव कुमार श्रेष्ठले पत्रमा संयुक्त रूपमा हस्ताक्षर गरेका छन्।