हेटौंडामा युवा लक्षित रोजगार महोत्सव, सयौंलाई रोजगारीको अवसर

Image

हेटौंडा/ हेटौंडामा युवालाई रोजगारी र उद्यमशीलतामा जोड्न ‘बागमती युवा उद्यमी रोजगार महोत्सव २०८२’ आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश र मकवानपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा असार १४ र १५ गते पल्पसा प्याराडाइजमा महोत्सव सञ्चालन गरिनेछ ।

रोजगारीको खोजीमा रहेका युवाहरू र कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको दुईदिने महोत्सवमा २५ भन्दा बढी राष्ट्रिय तथा बहुराष्ट्रिय रोजगारदाता कम्पनीहरूले प्रत्यक्ष अन्तर्वार्तामार्फत रोजगारीको अवसर प्रदान गर्नेछन् । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाटले महोत्सवबाट सयौं युवाहरू लाभान्वित हुने  जानकारी दिनुभयो ।

महोत्सवमा अन द स्पट रोजगारीका साथै व्यवसाय गर्न चाहने युवाहरूका लागि क्यारियर मार्गदर्शन, व्यवसायिक अवसर, बजारीकरण तालिम, बैंक कर्जा प्रवाह तयारी, उद्यमशीलता प्रवर्द्धन, आत्मविश्वास विकास, सीभी लेखन, अन्तर्वार्ता तयारीका सीपहरू, विषयगत अन्तरक्रिया लगायतका कार्यक्रमहरू समावेश गरिनेछ ।

संघका उपाध्यक्ष उज्वल चौंलागाईका अनुसार महोत्सव सञ्चालनका लागि १४ देखि १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ भने श्रम, रोजगार तथा यातायात मन्त्रालयले ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । महोत्सवको उद्घाटन श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले गर्नुहुनेछ ।