हेटौंडाको बसपार्कबाट ट्रामाडोल र गाँजासहित दुई जना पक्राउ

Image

हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित बसपार्क क्षेत्रबाट लागूऔषध ट्रामाडोल र गाँजासहित दुई युवक पक्राउ परेका छन्।

प्रहरी चौकी बसपार्क मकवानपुरबाट खटिएको गस्ती टोलीले असार १२ गते साँझ करिब ६:५० बजे गस्ती गर्ने क्रममा सडक पेटीमा शंकास्पद रूपमा बसेका दुई जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा जिल्ला रौतहट घर भई हाल हेटौंडा–४ बस्ने २१ वर्षीय बिकेश कुश्वार माझी र जिल्ला सर्लाही बागमती नगरपालिका वडा नम्बर ६ घर भई हाल हेटौंडा–४ बस्ने १९ वर्षीय सोहन खत्री रहेका छन्।

उनीहरूको साथबाट लागूऔषध ट्रामाडोल २२ क्याप्सुल र ४८ ग्राम ३३० मिलिग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ। बरामद लागूऔषधसहित दुवैलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय हेटौडा मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो।