मकवानपुरको राक्सिराङमा चट्याङ्ग लाग्दा ७ बर्षिया बालिकाको मृत्यु, आमा घाइते

Image

हेटौंडा/ मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–८ मेशिराङमा चट्याङ्ग लाग्दा एक बालिकाको मृत्यु भएको छ भने आमा घाइते भएकी छन् ।

असार १३ गते साँझ करिब ५:३० बजेको समयमा पानीसँगै आएको चट्याङ्गले आफ्नै घरमा बसिरहेको अवस्थामा यनुस प्रजाको श्रीमती अन्दाजी २६/२७ वर्षीया रविना प्रजालाई लागेको थियो । सो घटनामा रविना प्रजा सामान्य घाइते भइन् भने उनकी छोरी अन्दाजी ७ वर्षीया युनिका प्रजाको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो ।

घटनापछि रविना प्रजाका देवर आर्यन प्रजाले तत्काल दुवै जनालाई उपचारका लागि मनहरी अस्पताल लगेका थिए । तर, राति ८:५२ बजे युनिका प्रजाको उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

मृतक बालिकाको शव पोष्टमार्टमका लागि राखिएको छ भने आमाको थप उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको छ ।