हेटौँडा / बागमती प्रदेश सरकार हेटौँडालाई ‘मेडिकल सिटी’ को रुपमा विकास गर्ने तयारीमा जुटिरहेको छ। शनिबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पाँचौं वार्षिकोत्सवका अवसरमा बोल्दै प्रदेश सरकारका उच्च पदस्थ व्यक्तिहरूले यसतर्फ स्पष्ट संकेत गरेका हुन्।
मुख्यमन्त्री बहादुर सिंह लामाले हेटौँडाबाट ३ सय शय्याको भवनमार्फत अस्पताल सेवा सुरु गर्ने अन्तिम चरणको तयारी भइरहेको जानकारी दिँदै यसले बाहिरी जिल्लाका बिरामीलाई समेत गुणस्तरीय सेवा दिने विश्वास व्यक्त गर्नुभयो।
उहाँले संघीयता लागू भएपछि प्रदेशले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार हासिल गरेको दाबी गर्दै प्रदेश सरकार एकल अधिकारका रूपमा स्वास्थ्य क्षेत्रमा क्रियाशील रहेको बताए। उहाँका अनुसार, १३ वटा प्रादेशिक अस्पताल क्रमशः शैक्षिक थलोमा रूपान्तरण भइरहेका छन्।
कार्यक्रममा श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले हेटौँडाको भौगोलिक उपयुक्तता औंल्याउँदै यस क्षेत्रलाई मेडिकल सिटीको रूपमा अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो।
प्रतिष्ठानका संस्थापक कुलपति डोरमणि पौडेलले संघीयताको मर्म नबुझेर अस्पताल र प्रतिष्ठानबीच अनावश्यक विवाद सिर्जना गरिएको उल्लेख गर्दै प्रतिष्ठान हाल विवादमुक्त अवस्थामा पुगेको दाबी गर्नुभयो।
कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्रा.डा. प्रदिप ज्ञवालीले दिएको जानकारी अनुसार, हाल प्रतिष्ठानमा ३ सय ६६ विद्यार्थी अध्ययनरत छन् भने यसै वर्षदेखि ८ सिटमा ७ वटा स्नातकोत्तर तहका कार्यक्रम सञ्चालनमा ल्याइएको छ।
प्रदेश सरकारका बहुआयामिक पहल र प्रतिष्ठानको प्रगतिले हेटौँडालाई शैक्षिक र स्वास्थ्य क्षेत्रको केन्द्रबिन्दु बनाउने सम्भावना झनै बलियो बन्दै गएको संकेत देखिएको छ।

















