हेटौंडा / गौरिटार रंगशालामा जारी तेस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता चुरियामाई क्षेत्रका टोलीबीचको प्रतिस्पर्धाको केन्द्र बनेको छ । शनिबार सम्पन्न क्वार्टरफाइनल चरणपछि सेमिफाइनलमा प्रवेश गर्ने चारै टोल चुरियामाई क्षेत्रबाट भएका छन्, जसले प्रतियोगितालाई थप रोचक बनाएको छ ।
पहिलो क्वार्टरफाइनलमा साविक चुरियामाई–७ ले चुरियामाई–४ लाई टाइब्रेकरमा ३–२ ले हराउँदै अन्तिम चारमा स्थान बनायो । निर्धारित समयमा दुवै टोलीले १–१ को बराबरी खेलेका थिए । खेलका नायक बने चुरियामाई–७ का गोलकिपर वाङदेङ ब्लोन, जो म्यान अफ द म्याच घोषित भए ।
दोस्रो खेलमा साविक चुरियामाई–५ ले चुरियामाई–९ लाई १–० ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गर्यो । निर्णायक गोलकर्ता किशन थापा मगर म्यान अफ द म्याच घोषित भए ।
अब सेमिफाइनलमा भोलि चुरियामाई–३ र चुरियामाई–५ तथा चुरियामाई–७ र चुरियामाई–६ बीच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगिता अब चुरियामाई टोलबीचको उपाधि भिडन्तमा परिणत भएको छ ।
विजेता टोलीले ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार नगदसहित ट्रफी प्राप्त गर्नेछ । खेलमा विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि विशेष सम्मान प्रदान गरिनेछ । प्रतियोगिता सम्बन्धी जानकारी हेटौंडा–१५ वडा खेलकुद विकास समिति अध्यक्ष गोविन्द नेगीले दिनुभयो।












