हेटौंडा / हेटौंडा उपमहानगरपालिकामा समुदायमै आधारित सामाजिक रूपान्तरणको उदाहरण बनेको टोल विकास संस्थाको २५औँ स्थापना दिवस तथा रजत जयन्ती विशेष सम्मान र स्मरणीय समारोहका रूपमा सम्पन्न भएको छ।
नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता र प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा विभिन्न वडाका अध्यक्ष, सामाजिक अभियन्ता, सल्लाहकार, टोल प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।
समारोहमा बोल्दै मेयर लामाले सशक्त टोल संरचना समुन्नत र समावेशी नगर निर्माणको आधार हुने बताउँदै, टोलस्तरमै सक्रियता र नेतृत्व विकास हुनु सकारात्मक संकेत भएको धारणा राख्नुभयो।
कार्यक्रममा २५ वर्षअघि स्व. रमेश रत्न स्थापितको नेतृत्वमा सुरु भएको अभियानको स्मरण गर्दै उहाँकै नाममा रु. १ लाखको “स्व. रमेश रत्न स्मृति अक्षयकोष” स्थापनाको घोषणा गरियो।
टोल विकास संस्थाहरूको योगदानको कदरस्वरूप हेटौंडाका १९ वटै वडाबाट उत्कृष्ट ठहरिएका टोल संस्थाहरूलाई सामाजिक सहभागिता, वातावरणीय सचेतना, आर्थिक सक्रियता र महिला-युवा सशक्तिकरणजस्ता मापदण्डमा आधारित भएर सम्मान प्रदान गरियो।
त्यस्तै, विभिन्न वडाबाट १३ जना अग्रज टोल विकासकर्मीहरूलाई ‘रजत जयन्ती विशेष सम्मान’ दिइयो। समाज रूपान्तरण, सरसफाइ, महिला सशक्तिकरण र सहकार्य प्रवर्द्धनमा उनीहरूको योगदानलाई कार्यक्रममा विशेष रूपमा उजागर गरियो।
सो अवसरमा टोल विकास अभियानको अनुभव, कार्यविधि, लेख, बिधान तथा दस्तावेज समेटिएको “टोल विकास स्मारिका–२०८२” को विमोचन गरिएको थियो।
समारोहले स्थानीय तहको सामाजिक नेतृत्व र उत्तरदायित्वप्रति थप प्रेरणा जगाउने उद्देश्य लिएको नगर समन्वय समितिको भनाइ छ। भविष्यमा अझ सशक्त र समावेशी टोल संरचनाको विकास गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा पनि व्यक्त गरिएको थियो।

















