हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित रिद्धि सिद्धि सिमेन्ट फ्याक्ट्री जाने बाटो नजिक पूर्व–पश्चिम राजमार्गमा रुख ढल्दा एक भारतीय नागरिक घाइते भएका छन् ।
सोमबार दिउँसो १२:१५ बजे बिरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको BR32AK 1241 नम्बरको भारतीय मोटरसाइकलमा रुख खस्दा मोटरसाइकल चालक भारतको मधुबन–५ निवासी करिब २० वर्षीय कनैया कुमार घाइते भएका हुन् ।
रुख सिधै मोटरसाइकलमाथि खसेपछि कुमारको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
घटनापछि केही समय सडक अवरुद्ध भएको थियो । इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले १२:४० बजे रुख काटेर बाटो पूर्ण रूपमा सुचारु गरेको छ । घाइते कुमारलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय हेटौडा मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो।
















