हेटौंडा/ पूर्वी मकवानपुरको बकैया गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ९१ करोड ७२ लाख ५० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । सोमवार बसेको एघारौँ गाउँसभामा उपाध्यक्ष भक्त बहादुर खत्रीले प्रस्तुत गरेको बजेट चालु आवको तुलनामा एक करोड ८७ लाख ४९ हजारले कम भएको हो । गत वर्ष पालिकाले ९३ करोड ५९ लाख ९९ हजारको बजेट ल्याएको थियो ।
नव प्रस्तावित बजेटमा आन्तरिक स्रोतबाट ११ करोड ५१ लाख १८ हजार, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ५८ करोड ९१ लाख ६ हजार र बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट २१ करोड ३० लाख २५ हजार रुपैयाँ रहने अनुमान गरिएको छ । कुल बजेटमध्ये पूँजीगततर्फ २८ करोड ६ लाख ९१ हजार र चालुतर्फ ६३ करोड ६५ लाख ५९ हजार विनियोजन गरिएको छ ।
बजेटमा कृषि तथा पशुपालनलाई विशेष प्राथमिकता दिइएको छ । कृषि औद्योगिक ग्राम सञ्चालनमा २ करोड, त्यसको संरचना निर्माणमा २ करोड ५० लाख, र कोल्ड स्टोर निर्माणमा अनुदानसहित १ करोड ३० लाख विनियोजन गरिएको छ । पूर्वाधार निर्माणमा ५ करोड, चिस्याकेन्द्र निर्माणमा ६५ लाख र पोषणमैत्री स्थानीय तह घोषणाका लागि ७५ लाख छुट्याइएको छ ।
यसैबीच, गाउँसभाको अवसरमा पालिकाले उत्कृष्ट सेवा पुर्याउने विभिन्न व्यक्तित्व तथा संस्थालाई सम्मान र पुरस्कार प्रदान गरेको छ । उत्कृष्ट उपभोक्ता समिति, व्यवसायी, करदाता, गैरसरकारी संस्था, र रोजगारदाता सम्मानित भएका छन् ।
त्यस्तै, स्वास्थ्य, शिक्षा, पशुपालन, कृषि, प्रशासनिक तथा सुरक्षातर्फ उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई नगदसहित सम्मान गरिएको छ । सहायक प्रहरी निरीक्षक प्रमोद थापा सर्वोत्कृष्ट कर्मचारीको रुपमा नगद १० हजार सहित पुरस्कृत भए ।
कार्यक्रममा पालिका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्त बहादुर खत्री, प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, वडाध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

















