वैदेशिक रोजगारीमा महिला सहभागिता बढ्दो, १० महिनामै ३ हजार महिला विदेशिएका

Image

हेटौँडा / मकवानपुर जिल्लाबाट वैदेशिक रोजगारीका लागि महिलाको सहभागिता उल्लेख्य रुपमा वृद्धि भएको छ । सुरक्षित आप्रवासन परियोजना (सामी) मकवानपुरले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को चैत मसान्तसम्म ३ हजार जना महिला श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।

बिहीबार आयोजित सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा सामी परियोजनाले यो तथ्यांक सार्वजनिक गरेको हो । तथ्यांकअनुसार साउनदेखि चैत मसान्तसम्मको १० महिनाको अवधिमा पुरुष ८ हजार २ सय ५७ र महिला ३ हजार जनाले वैदेशिक रोजगारको लागि श्रम स्वीकृति लिएका छन् ।

सामी परियोजनाकी संयोजक अञ्जिता थापा मगरका अनुसार पुरुषको संख्याले अग्रता लिएको भए पनि महिलाको वैदेशिक रोजगारीतर्फको आकर्षण तीव्र गतिमा बढ्दै गएको छ ।
उनका अनुसार चालु आर्थिक वर्षमा सामी स्रोत केन्द्रमार्फत ७ हजार २ सय ६६ जनालाई सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी जानकारी प्रदान गरिएको छ, जसमा ८७ प्रतिशतको प्राथमिकता वैदेशिक रोजगारी रहेको पाइयो ।

सामी परियोजनामार्फत सूचना तथा परामर्श, सीप विकास तालिम, न्यायमा पहुँच, वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्शजस्ता सेवा प्रदान गरिएको छ । परियोजनाका अनुसार चालु वर्षको १० महिनामा मात्रै वैदेशिक रोजगारीसम्बन्धी ठगीका ५३ उजुरी प्राप्त भएका छन्, जसमा ३२ वटा मुद्दा जिल्ला प्रशासन कार्यालय र वैदेशिक रोजगार विभागको सहकार्यमा समाधान गरिएका छन् ।

वैदेशिक रोजगारीका लागि जाने प्रमुख गन्तव्य मुलुकहरूमा संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, कतार, मलेसिया, जापान, कोरिया, क्रोएसिया, रोमानिया, कुवेत र बहराइन रहेका छन् ।
कार्यक्रममा सामी परियोजनाका फोकल पर्सन भीमप्रसाद तिमल्सिनाले वैदेशिक रोजगारको वर्तमान अवस्था र चुनौतीबारे प्रस्तुति दिएका थिए ।