हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्र नजिक १७७० क्याप्सुल ट्रामाडोलसहित तीन जना पक्राउ परेका छन्।
सोमबार दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको गस्ती टोलीले पानी ट्याङ्की नजिक सडक छेउमा शंकास्पद अवस्थामा रोकी राखिएको ना.३८ प ३१८५ नम्बरको मोटरसाइकल र ना.२१ प १७१ नम्बरको स्कुटर जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय हेटौडा मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो।
पक्राउ पर्नेहरूमा हेटौंडा–१५ शिखरपानी बस्ने २४ वर्षीय महेश तामाङ, भिमफेदी गाउँपालिका स्थायी घर भई हाल हेटौंडा–९ डेराकोठामा बस्दै आएका २६ वर्षीय कैलाश थापा मगर, र हेटौंडा–१३ निवासी ४० वर्षीय सोम स्याङतान रहेका छन्।
प्रहरीले खानतलासी गर्दा उनीहरूको साथबाट ट्रामाडोलका १७७० क्याप्सुल फेला परेको थियो। साथै प्रयोगमा ल्याइएको मोटरसाइकल र स्कुटर समेत बरामद गरिएको छ।
उनीहरूलाई लागूऔषध सम्बन्धी कसुरमा पक्राउ गरी आवश्यक अनुसन्धानका लागि मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको डिएसपी अर्यालले बताउनुभयो।

















