शैक्षिक संकट समाधानका लागि हेटौंडाबाट उदाहरणीय पहल, हेटौंडा स्कूल अफ म्यानेजमेन्टले शिक्षाशास्त्र निःशुल्क अध्यापन सुरु

Image

हेटौंडा/ हेटौंडा–४ मा अवस्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसिएल साइनसले नेपालको शिक्षा क्षेत्रमा देखिएको जनशक्तिको अभावलाई सम्बोधन गर्ने उद्देश्यले नवीन र उदाहरणीय कदम चालेको छ। कलेजले नवोदय शिशु सदन बोर्डिङ स्कूल अन्तर्गतको नवोदय इनोभेशन सेन्टरको सहकार्यमा कक्षा–११ र १२ का विद्यार्थीका लागि ‘शिक्षाशास्त्र’ विषय निःशुल्क रूपमा अध्यापन गर्ने कार्यक्रम औपचारिक रूपमा सुरु गरेको छ।

शिक्षक तथा प्रशिक्षक उत्पादन गर्ने र उनीहरूलाई व्यवहारिक दक्षता विकासमा सहयोग पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रम नेपाली, अङ्ग्रेजी र गणित विषयमा केन्द्रित हुनेछ। कलेजका अनुसार सीमित कोटामा विद्यार्थी भर्ना गरी गुणस्तरीय र समावेशी शिक्षण प्रक्रियालाई प्रवर्द्धन गरिनेछ।

शिक्षण पेशाको आकर्षण घट्दै गएको वर्तमान समयमा हेटौंडा स्कुल अफ म्यानेजमेन्टको यो पहलकदमीले शिक्षक उत्पादनमा मात्र नभई सम्पूर्ण शैक्षिक परिपाटीमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। कलेजले नवप्रवर्तनशील शैक्षिक कार्यक्रमहरू मार्फत समुदायमा गहिरो प्रभाव पार्न सकिने विश्वास लिएको छ।
यो कार्यक्रमले शिक्षाशास्त्रको अध्ययनलाई अवसरमूलक बनाउँदै शिक्षा क्षेत्रमा योगदान पुर्‍याउन इच्छुक युवालाई मार्गप्रशस्त गर्नेछ।