हेटौँडा / बिहीबार राति मोटरसाइकल दुर्घटनामा निधन भएका राक्सिराङ–९ खैराङ अठारेस्थित कालिका माविका प्रधानाध्यापक दिपेन्द्र झाको शोकमा राक्सिराङ गाउँपालिकाले शुक्रबार एक दिनको लागि सम्पूर्ण शिक्षण संस्थामा शोक बिदा घोषणा गरेको छ।
गाउँपालिका अध्यक्षस्तरीय निर्णयअनुसार प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर बस्नेतद्वारा जारी सूचनामा शोक बिदाको घोषणा गरिएको हो। जनकपुर–४, धनुषाका स्थायी बासिन्दा ४५ वर्षीय झाको हेटौंडाको राप्ती रोडमा बिहीबार राति मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो।
दिपेन्द्र झा लामो समयदेखि खैराङस्थित कालिका माविमा प्रधानाध्यापकका रुपमा कार्यरत रहँदै शिक्षा क्षेत्रमा योगदान दिँदै आएका थिए। उनको असामयिक निधनले स्थानिय शिक्षा क्षेत्र शोकमा डुबेको छ।
















