हेटौंडा / ‘स्वच्छ, उत्पादनशील, समृद्ध सहर : हेटौंडा’ भन्ने मूल नारासहित हेटौंडा उपमहानगरपालिका–१५ मा शैक्षिक महोत्सवको आयोजना गरिएको छ। महोत्सवको उद्घाटन बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले गरेका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व मुख्यमन्त्री पौडेलले सामुदायिक विद्यालयहरूको शैक्षिक विकासमा स्थानीय तहले प्रभावकारी नीति निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए।
पछिल्लो समय सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको उल्लेख गर्दै उनले शैक्षिक गुणस्तर अभिवृद्धि र भौतिक पूर्वाधार विकासमा राज्यको नीतिगत ध्यान आवश्यक रहेको बताए।
उनले यस्ता शैक्षिक महोत्सवहरूले विद्यार्थीको प्रतिभा उजागर गर्नका साथै शैक्षिक सुधारबारे बहसको माहोल निर्माण गर्न योगदान पुर्याउने अपेक्षा व्यक्त गरे।
कार्यक्रममा वडा नं. १५ का वडाध्यक्ष तथा वडा शिक्षा समिति संयोजक सुनिल मोक्तानले शिक्षामा सुधार ल्याउन वडाको लगानीसहित शिक्षक, अभिभावक र सामाजिक व्यक्तित्वहरूको सक्रिय सहभागितामा विद्यार्थीको क्षमताअनुसारका गतिविधिहरू सञ्चालन भइरहेको जानकारी दिए।
महोत्सवमा वडा सदस्यहरू मिनु बिस्वकर्मा, पतली माया गोम्बा, सिंहबहादुर लो लगायत विभिन्न सामाजिक व्यक्तिहरूको उपस्थिति रहेको थियो।












