हेटौंडा / मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१८ आरामपुरस्थित धरान–चतरा सडकखण्डमा खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।
२१ गते दिउँसो करिब १२:३० बजे प्रहरी चौकी ठुलोदमार मकवानपुरबाट खटिएको गस्ती टोलीले शंकास्पद रूपमा हिँडिरहेका एक युवकलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट लागूऔषध फेला पारेको हो। पक्राउ पर्ने व्यक्ति हेटौंडा उपमहानगरपालिका वडा नं. १८ मानेडाँडाका ३४ वर्षीय विनोद पाख्रिन रहेका छन्।
प्रहरीले पाख्रिनको साथबाट ४२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरेको जनाएको छ। लागूऔषधसहित पक्राउ परेका पाख्रिनलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान अगाडि बढाइएको मकवानपुर जिल्ला प्रहरी कार्यालय हेटौडाका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो।

















