हेटौंडा/ मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका–१८ फुर्केचौरस्थित सडक छेउमा रोकी राखिएको एक टिपरमा सोमबार बिहान अचानक आगलागी भएको छ।
बा.प्र.०३–००१ क ०१९६ नम्बरको खाली टिपर गाडीमा बिहान करिब ६:४५ बजे आगलागी भएको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी ठुलोदमारबाट प्रहरी नायब निरीक्षक रिमा कोईरालाको नेतृत्वमा टोली घटनास्थलमा खटिएको थियो।
हेटौंडा उपमहानगरपालिकाको दमकलको सहयोगमा बिहान ७:०५ बजे आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगलागीबाट गाडीको अगाडिको भाग पूर्णरूपमा जलेर नष्ट भएको छ।
टिपर चालक मकवानपुरको वकैया गाउँपालिका–५ निवासी २६ वर्षीय सन्तोष थिङ प्रहरी सम्पर्कमा रहेका छन्। प्रारम्भिक जानकारीअनुसार चिया खानका लागि चालक र सहचालक गाडीबाट झरेपछि वायरिङ सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ।
मानवीय क्षति नभएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो।
















