हेटौंडा/ मकवानपुरको थाहा नगरपालिका–६ बज्रबाराही पोखरीडाँडामा गोरेटो बाटोबाट लडेर एक वृद्धको ज्यान गएको छ।
थाहा नगरपालिका–१ कुन्छाल निवासी अन्दाजी ६२ वर्षीय कृष्ण गोपाली असार २४ गते बिहान करिब ७:०० बजे मृत अवस्थामा फेला परेका हुन्। स्थानीयबासीमार्फत बिहान ८:३० बजे सूचना प्राप्त भएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
अनुसन्धानबाट प्राप्त प्रारम्भिक जानकारी अनुसार गोपाली बज्रबाराही बजारमा दूध बिक्री गरेर फर्किने क्रममा गोरेटो बाटोबाट करिब १० मिटर तल खस्दा शरीरका विभिन्न भागमा चोट लागी घटनास्थलमै मृत्यु भएको बताइएको छ।
मृतक हाल गोरेटा बाटोबाट करिब २ किलोमिटर दक्षिणमा रहेको गोठमा बस्दै आएका थिए। घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक सबिन बाबु अर्यालको नेतृत्वमा अनुसन्धान टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो।

















