चीनतर्फको भीषण वर्षासँगै आएको बाढीले रसुवामा ठूलो मानवीय र भौतिक क्षति पुर्याएको छ। बाढीका कारण नेपाल–चीन जोड्ने मितेरी पुल भत्किएको छ भने भन्सार कार्यालय, सुख्खा बन्दरगाह र रसुवागढी जलविद्युत आयोजनाको ड्याम तथा क्याम्पमा समेत गम्भीर क्षति पुगेको छ।
सशस्त्र प्रहरी बलका अनुसार बाढीका कारण हालसम्म १८ जना बेपत्ता भएका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले ९ जनाको सकुशल उद्धार गरेको जनाएको छ।
बेपत्ता हुने नेपालीहरूमा इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा छन्। साथै बर्दियाका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, बाग्लुङका नरेन्द्र विक, कन्टेनर चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान र हाइलक्स चालक लोकमान तामाङ पनि बेपत्तामध्ये परेका छन्।
सशस्त्र प्रहरीका अनुसार बेपत्तामध्ये ६ जना चिनियाँ नागरिक पनि रहेका छन्। उनीहरू यु युए (YU YUE), ली हुआछिङ (LI HUAQING), याङ छुवान (YANG CHUAN), यु हाई हाङ (YU HAI HANG), यु सियाओ छिउ (YOU XIAO QIU) र जो योंग (JOU YONG) हुन्।
बाढीले सुख्खा बन्दरगाहमा पार्किङ गरिएका सात वटा इभी गाडी बगाएको छ भने रसुवागढी हाइड्रोपावरको संरचनामा ठूलो क्षति पुगेको छ।
हाल घटनास्थलमा सुरक्षा निकायहरूको टोली परिचालित छन् र खोज तथा उद्धार कार्य तीव्र गतिमा जारी छ। प्रभावित क्षेत्रको अवस्था भयावह बनेको छ।

















