हेटौंडा / मकवानपुरको मनहरी गाउँपालिका–८ पुलचोक बेलुवा स्थित पूर्व–पश्चिम लोकमार्गमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
असार २६ गते बिहान ९:२० बजे मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको ना.३७ प ७६९० नम्बरको मोटरसाइकल र सोही दिशाबाट आउँदै गरेको प्रदेश ३-०३-००१ प ४४३४ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा ना.३७ प ७६९० नम्बरको मोटरसाइकल चालक राक्सिराङ गाउँपालिका–३ केराबारीका १८ वर्षीय दिपक दोङको बायाँ तिख्रामा गम्भीर चोट लागेको छ भने सोही मोटरसाइकलमा पछाडि सवार ढुंगेनका २४ वर्षीय पिटर तामाङ सामान्य घाइते भएका छन्।
त्यसैगरी, प्रदेश ३-०३-००१ प ४४३४ नम्बरको मोटरसाइकल चालक मनहरी गाउँपालिका–६ बिजौनाका २४ वर्षीय निरज राना प्रजा दुबै हातमा सामान्य चोटसहित घाइते भएका छन् भने सोही मोटरसाइकलमा पछाडि सवार मनहरी गाउँपालिका–७ बिजौनाका २४ वर्षीय विशाल प्रजा गम्भीर घाइते भएका थिए।
गम्भीर घाइते भएका विशाल प्रजालाई थप उपचारको लागि चितवनको पुरानो मेडिकल कलेज लगिएको थियो। तर, उपचारको क्रममा असार २७ गते राति ९:३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्। हाल उनको शव सोही अस्पतालमा राखिएको छ।
इलाका प्रहरी कार्यालय मनहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

















